सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ। आज अपराह्न १ बजे बस्ने बैठकमा विभिन्न महत्वपूर्ण विधेयकहरूलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने र एउटा विधेयक पारित गर्ने सम्भावित कार्यसूची तय गरिएको छ।
संसद् सचिवालयका अनुसार आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले तीनवटा विधेयकहरूलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। मन्त्री गौतमले प्रस्तुत गर्ने विधेयकहरूमा ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’, ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३’ रहेका छन्।
यसैगरी, कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव बैठकमा प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ। पशु स्वास्थ्य र रोग नियन्त्रणका दृष्टिले यो विधेयकलाई महत्वपूर्ण मानिएको छ।
आजको बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८३’ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यो विधेयक पारित भएमा मुलुकको विधि विज्ञान अनुसन्धान र प्रयोगशाला सञ्चालनलाई व्यवस्थित बनाउन कानुनी मार्गप्रशस्त हुनेछ।
प्रतिनिधिसभा बैठकका अतिरिक्त आज सङ्घीय संसद्अन्तर्गतका चार वटा संसदीय समितिको बैठक पनि बस्दैछ। संसद् सचिवालयका अनुसार आज अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, विकास, आर्थिक उजा तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्ने तय भएको छ। यी समितिहरूमा आ-आफ्नो कार्यक्षेत्रभित्र पर्ने विधेयक तथा समसामयिक विषयमा छलफल हुने जनाइएको छ।


